निर्वाचन विशेष

पुनर्वासको नगरप्रमुख र उपप्रमुखमा एमाले विजयी

कञ्चनपुर, २६ असार । पुनर्वास नगरपालिकाको मतपरिणाम आएसंगै सात नं. प्रदेशका सबै ठाउँमा मतगणना सम्पन्न भएको छ । हिजो सम्पन्न मत गणनाबाट पुनर्वास नगरपालिकाको मेयरमा एमाले विजयी भएको छ । मेयर पदका एमाले उम्मेदवार जीवनराज थापाले ६ हजार ४० मत प्राप्त गर्नु भएको छ। उहाँका निटकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका वीरबहादुर थापाले ५ हजार ५ सय १४ मत ल्याउनु भएको छ ।

एमाले उम्मेदवार जीवनराज थापाले माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर थापा भन्दा ५ सय २६ मत बढी ल्याएर विजयी हुनुभएको हो । नेपाली कांग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले ५ हजार ५ सय १२ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा समेत नेकपा एमाले नै विजयी भएको छ।

नेकपा एमालेकी उपप्रमुखका उम्मेदवार शारदा विष्टले ६ हजार ३ सय ६६ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सीता विकले ५ हजार ३ सय ५६ मत प्राप्त गर्नुभयो। नेपाली कांग्रेसकी उम्मेदवार भुलिया रानाले ५ हजार ३ सय ९१ मत प्राप्त गर्नुभयो । 


असार १४ गतेसम्म भएको निर्वाचनको राति देखी नै मतगणना कार्य सुरु भएपनि मतगणनामा त्रुटि भएको भन्दै दलहरुले मतगणनामा अवरोध गरेपछि ४ दिनसम्म मतगणना कार्य रोकिएको थियो। सर्वदलीय बैठकमा पुनःमतगणना गर्ने सहमति भएपछि मतगणना रोकिएको ४ दिनपछि पुनः मतगणना भएको थियो ।

एमालेले ११ वडा रहेको पुनर्वासमा ५ वडा प्यानलसहित विजयी हासिल गरेको छ। एमालेले वडा नम्बर १, ३, ५, ६ र ७ नम्बरमा प्यानलसहित विजयी हासिल गरेको हो । नेकपा माओवादी केन्द्रले भने २, ४, ९ र १० नम्बर वडा प्यानल सहित विजयी भएको छ । नेपाली कांग्रेसले ८ र ११ नम्बर वडा अध्यक्ष जितेको छ । सदस्यहरु आधा जितेको छ भने आधा माओवादी केन्द्र विजयी भएको छ ।
 

<