स्थानीय समाचार

सात नं. प्रदेश भित्र कञ्चनपुरको पुनर्वासमा मात्रै मतगणना सम्पन्न हुन बाँकी

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २५ असार । स्थानीय तहको निर्वाचन अन्तर्गत सात नं. प्रदेश भित्र कञ्चनपुरको पुनर्वासमा मात्रै मतगणना सम्पन्न हुन बाँकी रहेको छ । मतगणनामा धाँधली भएको भन्दै पुनर्वास नगरपालिकामा एमाले बाहेकका प्रायः सबै दलका प्रतिनिधिले विरोध गरेपछि रोकिएको मत गणना कार्य बुधबार साँझ देखि पुनः गणना गर्न लागिएको हो । कञ्चनपुरको पुनर्वास नगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार एमाले प्रमुख र उपप्रमुख दुवैमा अगाडि रहेको छ । आइतबार विहानसम्म वडा नं. १ देखि ९ सम्म मत गणना गरिसकिको छ ।

 

अब वडा नं. १० र ११ का मत पनि गणना गर्न लागिएकोले आइतबार साँझसम्म पुनर्वास नगरपालिकाले पनि नगर प्रमुख र उपप्रमुख सहितका पदाधिकारी प्राप्त गर्ने निर्वाचन अधिकृतको कार्यालय पुनर्वासका निर्वाचन अधिकृत टेक कुमार रेग्मीले बताउनु भयो । 


७ नगरपालिका र २ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको कञ्चनपुर जिल्लामा हालसम्म ८ वटा स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ । लालझाडी र बेल्डाँडी गाउँपालिका तथा बेलौरी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भिमदत्त र महाकाली नगरपालिकामा गतगणना सम्पन्न भइसकेको छ ।

 

कञ्चनपुरका बेदकोट, कृष्णपुर, भीमदत्त नगरपालिका र बेल्डाँडी गाउँपालिका गरी ४ स्थानीय तहमा नेकपा एमाले विजयी भइसकेको छ । नेपाली कांग्रेश महाकाली र शुक्लाफाँटा नगरपालिकामा विजयी भएको छ भने नेकपा माओवादी केन्द्रले बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा जित हाँसिल गरेको छ ।

 

अब पुनर्वास नगरपालिकाको मत परिणाम सार्वजनिक गरे लगत्तै कार्यपालिकाका लागि निर्वाचित पदाधिकारीबीच चुनाव हुने मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले बताउनु भयो । दोस्रो चरणमा प्रदेश नं. १, ५ र ७ का ३५ जिल्ला भित्र ३३४ स्थानीय तहमा निर्वाचन भएको हो । सात नम्बर प्रदेशमा भने ८८ स्थानीय तहमा निर्वाचन भएको हो ।
 

<