निर्वाचन विशेष

कञ्चनपुरका सबै मतदान स्थलमा निर्वाचनका लागि कर्मचारी खटनपटन

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १२ असार । कञ्चनपुरका सबै मतदान स्थलमा निर्वाचनका लागि आवश्यक पर्ने सामग्री र कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

सम्पूर्ण मतदान स्थलमा मतपेटिका, मतपत्र लगायतका सामग्रीहरु सम्बन्धित निर्वाचन अधिकृतको जिम्मा लगाइसकेको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले बताउनु भयो । यसैगरी निर्वाचनका लागि कञ्चनपुरमा १ हजार ७५० निजामती कर्मचारी र  ३ हजार सुरक्षाकर्मी खटिएको ढुंगानाले जानकारी दिनुभयो ।

 

रेडियो बेलौरीको संवादात्मक साप्ताहिक प्रस्तुती बेलौरी संवादको ८८ औँ अंकमा कुराकानी गर्दै उहाँले आइतबार देखि जिल्लाका सबै मतदान केन्द्रबाट फोटो सहितको मतदाता परिचय पत्र वितरण सुरु गरिएको बताउनु भयो । ७ नगरपालिका र २ गाउँपालिका गरी जम्मा ९ वटै स्थानीय तहका १ सय ३२ मतदान स्थलबाटै परिचय पत्र वितरण गरिएको जनाइएको छ ।

 

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म परिचय पत्र वितरण गरिदैँ छ । असार ११ गतेदेखि १३ गते सम्म फोटो सहितको मतदाता परिचय पत्र वितरण गरिने ढुंगानाले बताउनु भयो ।  मतदाता परिचय पत्र  लिनका लागि परिचय खुल्ने कागजपत्र लिएर स्वयं नै उपस्थित हुनुपर्ने हुन्छ ।

 

कञ्चनपुरमा १ लाख १५ हजार ४ सय २२ पुरुष, १ लाख २० हजार  ३ सय १२ महिला र एक तेस्रो लिङ्ग गरी जम्मा २ लाख ३५ हजार ७ सय ३५ मतदाता रहेका छन् ।
 

<