निर्वाचन विशेष

निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नाका ७२ घण्टाका लागि बन्द

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १२ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नाका ७२ घण्टाका लागि आजदेखि बन्द भएका छन् ।

कञ्चनपुर देखि झापा सम्म, पश्चिमी क्षेत्र कञ्चनपुरको गड्डाचौकी देखि उत्तर दार्चुला सम्म र पूर्व झापा देखि ताप्लेजुङ सम्मका नाका बन्द गरिएका हुन् । ७२ घण्टासम्म कुनै पनि देशका नागरिक आवतजावत गर्न नपाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्दले बताउनुभयो ।

रेडियो बेलौरीको संवादात्मक साप्ताहिक प्रस्तुती बेलौरी संवादको ८८ औँ अंकमा कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सीमा नाका बन्द गरिएको बताउनु भयो ।

यसैबीच असार ८ गते देखि १८ गतेसम्म कञ्चनपुरलाई मदिरा निषेधित क्षेत्र घोषणा गरी निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा ओसारपसारमा समेत निषेध गरिएको छ । त्यस्तै, असार १४ गते मतदानका दिन जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका बाहेक अन्य सवारीसाधन चलाउन नपाइने प्रहरी उपरीक्षक चन्दले बताउनुभयो ।
 

<