बेलौरी खबर

समाचार लेखेकै भरमा कञ्चनपुरका दुई पत्रकार पक्राउ

मोहन विष्ट, कञ्चनपुर, ३ असार | कञ्चनपुरका दुई पत्रकारलाई प्रहरीले केही सार्वजनिक अपराध गरेको आरोप लगाएर पक्राउ गरेको छ । समाचारको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरबाट प्रकासित हुने मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश दत्त भट्टलाई पक्राउ गरेको हो । उनीहरु दुवैलाई शनिबार पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । भण्डारीलाई मानखण्ड दैनिकको कार्यालय तथा उनकै निवास र भट्टलाई महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो ।

मानसखण्ड दैनिकमा लगातार होटल सञ्चालक कञ्चन नाथ र पुजा नाथ पक्राउ परेको विषयमा प्रहरीसँग जोडिएर समाचार छापिएको थियो । पक्राउ परेका सम्पादक भण्डारीले प्रहरीले समाचार लेखेकै भरमा रिस साध्न आफ्नो सञ्चारगृह बन्द हुने गरि आफू र कार्यकारी सम्पादकलाई पक्राउ गरेको बताए । ‘यो प्रेस स्वतन्त्रतामाथीको ठुलो प्रहार हो, ‘उनले भने, ‘समाचार लेखेकै भरमा अपहरणशैलीमा प्रहरीले हामीलाई पक्राउ गर्‍यो ।’ युवती नाथका बाबु खेम राज नाथले आफ्नो छोरीको चरित्र हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि पत्रकार भण्डारी र भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले युवती नाथका अभिभावकले उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरेको बताए । ‘खेमराज नाथले उजुरी दिएको हो, ‘उनले भने, ‘उहाँहरुलाई समाचारको रिस साध्न पक्राउ गरेका होईनौँ ।’ किटानीका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक दाहालको भनाई छ ।

पत्रकार द्वय भण्डारी र भट्टलाई प्रहरीले समाचार लेखेकै विषयमा पक्राउ गरेको भन्दै प्रहरीको चौतर्फी बिरोध भएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, हिरासतमा राख्ने, थुन्ने काम निन्दनिय र घृषित भएको जनाएको छ ।

महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले समाचार लेखेकै भरमा कुनै पनि पत्रकारलाई यस्तो शैलीमा पक्राउ गर्नु निन्दनिय काम भएको बताए । जघन्य अपराध गरेका व्यक्तिलाई पक्राउ गर्नुको साटो पीडितको न्यायको पक्षमा समाचार लेख्दा युद्धकालिनशैलीमा पत्रकार पक्राउ गरेर प्रहरीले ज्यादती गरेको टिप्पणी गरिएको छ ।

<